लि ढुंगा विद्यालयको रहस्य

To read this story in English, please click here.
२०१६ मा भवन पुनर्निर्माण पछी लि ढुङ्गा बिद्यालयमा विद्यार्थीहरु ।

पुरानो परियोजना अनुगमन गर्ने क्रममा म सोताङको लि ढुंगा आधारभूत विद्यालय पुगेर भित्र प्रबेश गर्न धेरै खोजें तर कतै पनि छिर्ने ठाउँ भेटिन । कुनै न कुनै ठाउँबाट विद्यालय भित्र पस्ने ठाउँ त होला नि भनी घुमी रहेँ तर संभव भएन । विद्यालय परिसरभित्र प्रवेशको लागि एउटा पुर्व र अर्को पश्चिम पट्टि दुई वटा फलामे गेट रहेको थियो र दुवैमा चाबी बन्द गरिएको थियो । त्यो बाहेक चारैतिर बलियो मोटो खालको तारले व्यवस्थित रुपमा घेरा हालिएको थियो । सोताङ बजारबाट निक्कै टाढा यस विद्यालयको अनुगमनमा विहान निस्कदाँ यस्तो राम्रो घेराबार होला भन्ने दश मनमा एक मन पनि थिएन । हामीले भुकम्पबाट भत्किएको यस विद्यालय पुननिर्माण गरेपछि नियमित अनुगमनमा जाने गरिरहेको थिएँ । तर केही समय ग्याप भएको थियो र सो अन्तरालमा विद्यालय यत्ति प्रभावकारी ढंगले व्यवस्थित भएको रहेछ भन्ने बल्ल त्यो दिन मात्र थाहा भयो । यो परिवर्तनले चकित भएर मैले धेरै अबेर सम्म बाहिरको परिसरमा नै निरन्तर आँखा घुमाई रहें ।

हालसालै अनुगमनमा पुग्दा घेराबार हालिएको बिद्यालय परिसर बाहिर जि प्राविधिक छत्र ।

त्यहाँ अम्लिसोको खेतीको थालनी देखेँ जसबाट आयआर्जन हुनेछ साथै विद्यालय परिसर नभत्कियोस भनेर रोकथामको लागि पनि महत्वपूर्ण रहला भन्ने विश्लेषण गरें ।  कुहिने र नकुहिने फोहर जम्मा गरेको खाडल पनि व्यवस्थित रुपमा रहेको पाएँ । त्यहाँबाट कुहिने बस्तुबाट पाकेको मल त्यही अम्लिसो लगायत वरिपरी रोपेको बोट विरुवा र फूलमा प्रयोग गर्ने होला भनेर अनुमान गरें ।

विद्यालय परिसर भित्र कुहिने र नकुहिने फोहर जम्मा गरेको व्यवस्थित खाडल

अनि भित्रको परिसरमा आँखा घुमाउदाँ विरुवा र फूल रोपेर बारेको पाएँ । विद्यालयको प्रागंणमा चिटिक्क परेको गमलाहरुमा फूल रोपिएको थियो भने ‘फोहर मलाई’ भन्ने फोहर राख्ने भाँडो पनि तल्लो र माथिल्लो भवनको केन्द्र विन्दु पर्ने गरी ठाउँ ठाउँमा राखिएको थियो । चिरीच्याट्ट पारेर सानो लाम्चो आकारको बगैंचा पनि बनाइएको रहेछ जसलाई बाँसको भाटाले स्तरीय रुपमा बारिएको थियो ।

कक्षा कोठा भन्दा बाहिर नर्सरी तथा कक्षा १ को बालबालिकाहरुको जुत्ता राख्ने र्‍याक मजाले राखिएको थियो । कक्षा कोठाको र्‍याकमा जैविक खाजाको भाँडा वा बट्टाहरु मिलाएर राखेको देखियो । अति प्रभावकारी रुपमा घरमा बनाएको स्वस्थ खाजालाई प्रबर्धन गर्न थालिएको पाएँ । जसले गर्दा प्रशोधित खाजा न्यूनीकरण हुदैँ गएको रहेछ ।

नर्सरी तथा कक्षा १ को बालबालिकाहरुको जुत्ता राख्ने र्‍याक
कक्षा कोठा भित्रै जैविक खाजाको भाँडाहरु मिलाएर राखिएको

अझै दृश्यवलोकन गर्ने क्रममा डाँडामा रहेकोले होला राष्ट्रिय झण्डा सँगै विद्यालयको झण्डा र समुहको रङ्गीविरङ्गी झण्डाहरु फरफराई रहेको देखियो । क्रमश नजर लाउँदै गर्दा भवनको छाना मुनीको काठ लगायत अन्य उपयुक्त ठाउँमा शैक्षिक महत्व झल्काउने सकारात्मक भनाई र नक्शाहरु टाँसिएको पाएँ ।

विद्यालयको झण्डा र समुहको रङ्गीविरङ्गी झण्डाहरु फरफराई रहेको

पुर्व पट्टि महिला पुरुषको नक्शा ढोकामा टाँसिएको चिटिक्कको सफा र पानी व्यवस्थापन भएको शौचालय रहेछ ।

त्यसै गरी विद्यालय भवन संगै जोडिएको खानेपानीको धारा पनि देखें । एउटा अग्लो र अर्को होचो धाराले ठुला र साना विद्यार्थीहरु दुवैलाई पानी प्रयोग गर्न सजिलो भएको रहेछ । धारा वरिपरि पनि पानी उचित तरिकाले प्रयोग गर्ने सकारात्मक भनाई राखिएको रहेछ ।

बाल मैत्री धाराहरु

यसरी लामो समयसम्म बाहिरबाट नै यो विद्यालय नियाल्दै मैले धेरै कुरा मन मस्तिष्कमा अभिलेख राखी सकेको थिएँ । सबै शिक्षकहरु कक्षा कोठामा तल्लिन रहेको प्रष्ट हुन्थ्यो किन कि कोही पनि बाहिर देखिएका थिएनन् । ठिक त्यही बेला घण्टी बजाउनको लागि एक जना शिक्षक कक्षाकोठा बाहिर आउनु भयो । मैले वहाँलाई भित्र पस्नको लागि अनुमति पाउँ भनी अनुरोध गरें । आफ्नो परिचय दिएर म विद्यालय भवनको अनुगमन गर्ने क्रममा आएको छु भने पछि  विद्यालय भित्र पस्ने मौका मिल्ने भयो । वहाँले कार्यालयबाट चाबी लिएर गेट खोलेपछि मात्र बल्ल मैले सुन्दर परिसरभित्र प्रवेश पाएँ ।

सफा, सुन्दर र सुरक्षित विद्यालय परिसर

खुशीले गदगद हुँदै मोबाईलमा नै फोटो कैद गर्न थालें भवन, विरुवा, फूलको बगैचा, गमलामा रोपेको फूल ईत्यादी । विद्यालय मैदानबाट वरिपरीको छिमेकी गाउँ लगायत रमणिय डाडाँपहाड, वनजंगल, खोलानाला साथै छिमेकी रोक, सुस्ला, नाम्लुङ र बुङका विद्यालयहरु पनि टाढैबाट अवलोकन गर्न पाईयो । यी सबै विद्यालयका भुकम्प प्रतिरोधी भवनहरु जि फाउण्डेशनले सोलुखुम्बु विकास समाज, नव ज्योति युवा मञ्च र पहाडी विकास संरक्षण समुहसंग साझेदारीता गर्दै पुननिर्माण गरेको थियो भनी मनमनै स्मरणमा ल्याएर एक छिन आफैमा हराएछु ।

फेरी मनलाई लि ढुंगा आधारभूत विद्यालय भित्र फर्काएर सोचें ।  अब मलाई बाहिरको व्यवस्थापनको दृश्यवालोकनले मात्र धित नमर्ने भयो र मैले कक्षा कक्षामा पनि पुगेर हेर्ने आँट कसें ।

विद्यार्थीहरुको पूर्ण सहभागितामा कक्षा सन्चालन भैरहेको थियो ।

पालै पालो ढोकाबाट पढाईलाई बाधा नपुराउने किसीमले कक्षा कोठा घुम्न थालें । सबै कक्षामा बालमैत्री शिक्षण भई रहेको पाएँ जहाँ विद्यार्थीहरु झुम्म भएर रमाउदै शिक्षकहरुसँग स्वस्फूर्त रुपमा बोल्ने लेख्ने, छलफल गर्ने, विद्यार्थीहरुलाई समस्या भएको बेला शिक्षकहरुले सहजीकरण गरी रहनु भएको, स्थानीय स्रोतको संकलन गरी त्यसलाई अध्ययन गर्ने छुने, भन्ने, लेख्ने, नक्शा बनाउने कार्य गरी रहेका थिए । विद्यार्थीहरु स्वस्फूर्त रुपमा समुहमा रहेर छलफल गर्दै Learning by Doing को सिद्धान्त अनुसार कक्षा संचालन भइरहेको थियो । शिक्षकले त्यही अनुसार रमाईलो पाराले सहजीकरण गरी रहेको पाएँ । मैले पनि कक्षा कोठामा अध्ययन र अध्यापनमा असर नहोस् भन्ने हेक्का सकेसम्म राख्दै थिएँ । त्यहाँको बाह्य वातावरणले नै मलाई ठुलो छाप पारी सकेको थियो त्यसकारण सही नीति नियम पक्कै होला भनेर अन्दाज गरी सकेको थिएँ । त्यसले गर्दा विद्यार्थी र शिक्षकहरुलाई मेरो कारणले बाधा पुर्‍याउनु हुदैन भनेर म हरदम सचेत भइरहें । मैले केही जिज्ञासा राख्नु पर्छ भन्ने तिब्र ईच्छा भने मनमनै जागिसकेको थियो । विद्यालय व्यवस्थापन सुधार कसरी भयो होला भन्ने विषयमा उत्तर पाउनको लागि म खाजाको समय सम्म कुर्न तयार भएँ ।

प्रफुल्लित विद्यार्थीहरु
शिक्षक शिक्षिकासँग अन्तर्कृया गर्न विद्यार्थीहरु हिच्किचाउन छोडेका छन् र आफ्नो कक्षा अभ्यास देखाउन आतुर छन्

जब खाजाको समय भयो म प्रधानाध्यापकको खोजीमा लागें ।  निमित्त प्रधानाध्यापक शितल कार्की रहेको जानकारी पाएपछि वहाँसंग कार्यालयमा भेट भयो । विद्यालयको परिवर्तनको बारेमा बताई दिनु हुन अनुरोध गरे पछि उहाँले मलाई यसरी बेलीविस्तार लगाउनु भयो :

“शिक्षाले नै सर्वाङ्गिण विकास गर्ने भएकोले शैक्षिक क्षेत्रलाई उजागर गर्नको लागि हामीले यस विद्यालयमा अभिभावक, समुदाय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बाल क्लब साथै अन्य सरोकारवालाहरु तँपाईहरु जस्ता संस्था जि फाउण्डेशन, स्थानीय सरकार, गाउँपालिका, रिड नेपाल जस्ता मनकारी संस्थाहरु जस्तोको सल्लाह सुझाव र सहयोगमा विद्यालय सुधारको लागि निरन्तर खटी रहेका छौं। किन कि बाहिरी संरचना जत्ति राम्रो छ भित्र गुणस्तर त्यत्ति नै राम्रो हुनु आवश्यक छ । यो कुरा हामी सबै सम्वन्धित सरोकारवालाहरुले बुझी सकेका छौं। यसमा तपाइहरुले यस्तो राम्रो बलियो पिलरवाला नमूना भवन निर्माण गरी दिनु भएको छ । त्यस्तै सोताङ गाउँपालिकाले घेराबार व्यवस्थापन, शौचालय निर्माण आदिको लागि सहयोग गर्नु भएको छ । रिड नेपालले शैक्षिक गुणस्तरको लागि शैक्षिक सामग्री, शिक्षक तालिम, विद्यालय व्यवस्थापन तालिम, बाल क्लबको क्षमता अभिवृद्धि गराउने कार्य, फूल रोप्ने गमला, फोहर व्यवस्थापन गर्ने डस्टबीन आदि प्रदान गरेर सहयोग गर्नु भएको छ । जे होस् यो विद्यालय सोताङ गाउँपालिकाको नमूना विद्यालय हो । यो दण्ड रहित छ । यहाँ बालमैत्री शिक्षण प्रणाली छ र विद्यार्थीहरुको लागि जैविक खाजाको व्यवस्थापन पनि भएको छ । यसको सेवा क्षेत्र भित्र कोही पनि विद्यालय आउने उमेरका बालबालिका छुटेका छैनन् । हाल यहाँ छात्रा ३५ जना र छात्र ३८ गरी जम्मा ७३ जना अध्ययनरत छन् । हामी शिक्षकहरु महिला ४ र पुरुष २ गरी जम्मा ६ जना खटी रहेका छौं ।”

अर्को जिज्ञासा मैले यो राखेको थिएँ, “विद्यालय परिसरभित्र त सिधै आउन नसकिंदो रहेछ” । जसमा वहाँले भन्नुभयो विहान र बेलुकी एक चोटी गेट खुल्छ अरु बेला आवश्यक पर्दैन । खानेपानी, शौचालय, खेल मैदान, फोहर व्यवस्थापन गर्ने ठाउँ, विद्यार्थीहरुलाई नयाँ पुस्तकहरु पढ्ने ठाउँ सबै विद्यालय भित्र नै छ । बालबालिकाहरुको लागि खेल्ने ठाउँ पुग्दो भएकोले पनि बालबालिका बाहिर झगडा गर्ने, लड्ने चोट पटक लाग्ने र भाग्ने क्रियाकलाप हुदैन । जो कोही प्रवेशको लागि परिचय र लक्ष्य प्रष्ट भएपछि मात्र अनुमति पाईन्छ । यो नीति नहुने हो भने जो पनि जुन बेला पनि प्रवेश गरेर शिक्षण सिकाईमा बाधा पुगेको अनुभव छ तर हाल भने यस नीतिले गर्दा अभिभावकहरु पनि पालै पालो अनुगमनमा आउनु हुदाँ यो नियमलाई पालना गर्नुहुन्छ । सबै अभिभावकलाई पनि यसको जानकारी भइसकेको रहेछ ।

विद्यालय परिसर भित्र नै विद्यार्थी को सम्पूर्ण आवस्यकता पुर्ती हुने भएकोले बाहिर निस्किन जरुरी छैन ।

अन्त्यमा यो विद्यालय भवन अहिले सम्म केही मर्मत गर्नु पर्ने भएको थियो भन्ने जिज्ञासामा अहिले सम्म खासै केही पनि मर्मत गर्नु परेको छैन यदि परि हालेमा पनि मर्मत सम्हार कोष रहेको जानकारी दिनुभयो । अहिलेको नयाँ भवन निकै बलियो रहेको पाईएको छ । पहिलाको भवन डाँडाको छेउ पट्टि थियो तर हाल कुना पट्टि निर्माण भएकोले धेरै राम्रो भएको छ । पहिला छेउ पट्टि हुदाँखेरी त कति चोटी हावाले छाना पनि उडाई दिएको हो । पछि भुकम्पले क्षतविक्षत पारेको भवन पुननिर्माण पछि ज्यादै स्तरीय र बलियो भएको छ ।

रमाइलो कक्षा कोठामा यस्ता रङिचङी चित्रले झन रमाइलो थपेको छ शिक्षक विद्यार्थी दुबैलाई ।

यसरी मेरो एक दिन अविस्मरणिय भ्रमणको निस्कर्षमा भन्दा भौगोलिक हिसाबले निकै उच्च र डाँडामा रहेको ठाउँ हुनाले लि ढुंगा घुम्नको लागि अति रमणीय छँदै थियो । तर अब भने यहाँको विद्यालय व्यवस्थापन व्यापक सुधार भइ शैक्षिक गुणस्तरका लागि नमुना सावित भएको छ । यही विद्यालयबाट सिक्न पनि लिढुंगा भ्रमण गर्न झन् लायकको ठाउँ भएको छ । “हाम्रो विद्यालयमा बालमैत्री शिक्षा, दण्ड रहित सिकाई विद्यार्थीको अपेक्षा” भन्ने मूल नाराको साथमा अघि बढी रहेको यस विद्यालयले लि ढुंगाको छुट्टै पहिचान बनाउँदै छ । भनाइ अनुसार गराईमा पनि बालबालिकाहरु विद्यालय रमाई रमाई आएको देख्दा मन दंग भयो । सोलुखुम्बु विकास समाज सोताङको साझेदारीतामा निर्माण भएको भुकम्प प्रतिरोधि भवनहरु सही सदुपयोग तथा संरक्षण भई रहेकोमा दुई मत छैन । त्यसमाथि सबै सरोकारवालाको होस्टेमा हैंसेले यहाँको शैक्षिक गुणस्तरले मारेको छलागं प्रशंसनिय छ । यस विद्यालयलाई अझै प्रगतिको लागि हार्दिक शुभकामना ।

लेखक:

जित्न जनम राई

सोलुखुम्बु कार्यक्रम संयोजक

जि फाउन्डेशन

Share on Facebook Share via Email