कर्णाली क्षेत्र जत्तिकै विकट सोलुखुम्बु जिल्लाको चाम्लाङ हिमाल र मेरापिक हिमालको फेदीमा अवस्थित गा.वि.स. हो छेस्काम जुन सोलु सदरमुकाम सल्लेरीबाट १८ कोष टाढा छ । प्राकृतिक सुन्दरताले भरीपुर्ण भएपनि सरकारी कार्यक्रम तथा विकासबाट दुरदराज रहनु छेस्कामको तितो यथार्थ हो । राम्रो स्वास्थ्य उपचार पाउनलाई तीन चार दिनको पैदल यात्रा गए मात्र सम्भावना रहेको र यातायातको पहुँच नपुगेको ठाँउ हो । यस गा.वि.स.मा २०५६ साल तिर झाडापखाला, हैजाले धेरै मान्छेको मृत्यु समेत भएको दर्दनाक इतिहास छँदैछ । बच्चा जन्माउन समस्या भएर उपचारमा लैजादा बाटैमा उपचार नपाएर मृत्यु भएको कैयन उदाहरण घर घरको थियो । विगत २ बर्ष अगाडीसम्म सरसफाईको क्षेत्रमा समेत त्यति प्रगति भएको थिएन । विगतका समयमा यहाँका समुदायहरु चर्पीको विकल्पमा सुँगुरको खोरमा तथा खुला ठाँउमा दिसा पिसाव गरिरहेको अवस्था थियो । वातावरण प्रदुषण भएर आउ, हैजा, झाडापखाला जस्ता रोगका कारण बालबालिकाहरु बिरामी हुनु सामान्य झैं थियो । परम्परागत कृषि प्राणाली अपनाएर समुदायहरु जिविको पार्जन गरिरहेको भेटिन्थ्यो तर आज छेस्कामले मुहार फेरेको छ । मेरो गाउँ छेस्काम जो सोलुखुम्बु कै विकट भनेर भनिन्थ्यो तर मिती २०७२ मंसिर २९ मा यो जिल्ला कै १३ औ खुला दिसा मुक्त क्षेत्र तथा नेपालकै पहिलो इकोसान भिलेज घोषणा भएको छ । हामी सबै छेस्कामवासीहरुको लागि यो दिन गर्व र खुशीको विषय हो ।
बिद्यालयको अगुवाइमा खुल्ला दिशामुक्त क्षेत्र र सरसफाइ अभियान सुरु गर्दै
तर यो दिनै यसै आएको भने हैन । वास्तवमै समुदायको विकास र परिवर्तन हु्न चेतना स्तरमा विकास हुन आवश्यक छ । चेतनाको विकास भए पश्चात समुदाय आफु र आफैबाट परिवर्तन गर्न सक्छन् भन्ने मैले यो दुई वर्षमा सिकें । सन् २०११ देखि छेस्काम गा.वि.स.मा जि फाउन्डेशन स्थानिय संस्था नव युग एकता विकाससंग साझेदारी गरी कार्य क्षेत्र बनाई भित्रियो । “दिगो विकास हाम्रो प्रयास” भन्ने मुल नाराको साथमा स्वास्थ्य, शिक्षा, कृषि, आयआर्जनको क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने क्रममा स्थानियको माग र नवयुग एकता विकास समितिको प्रस्तावना अनुसार सन् २०१४ मा इकोसान शौचालय निर्माण परियोजनालाई प्राथमिकतामा राखि सोही अनुसार शौचालय कार्यक्रम छेस्काममा शुरु भएको थियो । इकोसान चर्पी भनेको पिसाब लाई बेग्लै सन्कलन गरी पिसाब मलको रुपमा प्रयोग गर्न मिल्ने चर्पी हो ।
खगेन्द्र कुलुङको फुलैफुलले सजिएको चर्पी । अब छेस्कामको प्रत्येक घरमा यस्तै पिसाबको पुनर्प्रयोग गर्न मिल्ने इको सान चर्पी छ ।
सन् २०१४ मा छेस्काम १, २ र ६ वडामा ४०० वटा र सन् २०१५ मा ३७६ वटा गरी जम्मा ७७६ वटा इकोसान चर्पी निर्माण परियोजना सञ्चालन भयो । जसमध्ये जि फाउन्डेशनले नवयुग एकता विकास समितिमार्फत बाह्य सामाग्रीका लागि एउटा चर्पी वरावर रु १६,५२५।–सहयोग गरेको छ भने स्थानियले एउटा चर्पी बरावर रु ५७,३००।– बरावरको आफ्नो श्रमदान गरेका छन् । चर्पी निर्माण फाईदा, वालीमा पिसाव प्रयोग, बिद्यालयको अगुवाईमा पुर्ण सरसफाई अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी समुदायको चेतना अभिबृद्धि गराईएको थियो । इकोसान भिलेजको लागि गा.वि.स.मा रहेका वाटरशिल चर्पी हुनेहरुलाई पिसावको महत्व, फाईदा र प्रयोग गर्ने बिधि वारे अभिमुखिकरण गरी पिसाव संकलन ड्रम, टिटि वल, सोली समेत वितरण गरिएको थियो । २०१५ मा सोलुखुम्बु जिल्लालाई नै खुला दिसा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यलाई सार्थकता तुल्याउन स्थानिय सरोकारवालासंग समन्वयन गरी कार्यक्रम लागु गरिएको थियो । हाल सबै घरले चर्पी निर्माण सम्पन्न गरीे प्रयोग गरीरहेको अवस्था छ । शौचालयबाट निस्केको पिसाब ड्रमबाट संकलन गरी बालीमा पिसाव प्रयोग गरिरहेको अवस्था छ भने जि फाउन्डेशनको सहयोगमा सञ्चालित कृषि कार्यक्रम अन्तरगत एक घर एक करेसावारीमा पिसावको प्रयोगले अत्यन्तै राम्रो तरकारी उत्पादन भईरहेको छ । सरसफाई प्रर्बद्धन भएको अवस्था देखिन थालेका छन् । पर्यावरणिय तथा वातावरण सरसफाईमा चर्पी निर्माण पश्चात सकरात्मक परिवर्तन भएको छ । परिवर्तन आफैबाट शुरुवात गर्नु पर्छ भन्ने भनाईलाई सार्थकता तुल्याउदै विद्यालय सेवा क्षेत्रमा वाल ल्कवको अगुवाईमा सरसफाईमा प्रर्बद्धन तथा चर्पी निर्माण गराई पुर्ण रुपमा बिद्यालय सेवा क्षेत्रलाई खुला दिसामुक्त तथा इकोसान भिलेज घोषणा गरिएको छ ।
सरला कुलुङ र उन्को श्रीमान करेशाबारीमा पिसाब मलको प्रयोग गर्दै ।
गाँउ, टोल र समुदायमा परिवर्तन आएकोले वातावरण सफा अनि सुन्दर देखिन थालेको छ । घर घरमा इकोसान चर्पीले छुट्टै पहिचान ल्याएको छ । कृषि, स्वास्थ्य, सरसफाई, पोषण, वातावरणमा सकारात्मक परिवर्तन गरी पर्यटक प्रर्बद्धनमा समेत टेवा पुग्ने बिश्वास बढेको छ ।। छेस्काम स्वास्थ्य चौकीका अ.हे.व. नरेन्द्र कठायतकोअ नुसार चर्पी निर्माण र प्रयोग पश्चात स्वास्थ्य चौकीमा बिरामीहरु पनि कमी भएको छ । समुदायमा सुङुरको खोर र खुला ठाँउमा दिसा पिसाव गर्नु हुदैन, चर्पीको प्रयाोग गर्नु पर्छ भन्ने चेतना अभिबृद्धि भएकोछ । वातावरण सरसफाईको क्षेत्रमा जस्तै बाटोघाटो, खोल्सा खोल्सी, घर वरपर, व्यक्तिगत , घरायसी र वातावरणीय सरसफाईको क्षेत्रमा समेत समुदाय लागिपरेको देखिन्छन् । जसले गर्दा पर्यावरणिय तथा वातावरणिय सरसफाईमा सकारात्मक प्रभाव देखिन थालेको छ । फोहोर व्यवस्थापन चक्रलाई अपनाउन थालेको अवस्था छ ।
छेस्कामको मामेर्कुका स्थानिय आफ्नो चर्पी अगाडि । पोहोर नै इको टोल र खुल्ला दिशा मुक्त भैसकेको मामेर्कुमा यहाँहरुलाई स्वागत छ ।
अहिले भन्दा सजिलो भएपनि समुदायलाई परिवर्तन गर्न र कार्यक्रम कार्यान्वयन गर्न कम चुनौति पुर्ण थिएन । विभिन्न चरणमा समुदायको चेतना अभिबृद्धि हुने खालका अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । अनुगमन, मुल्याङ्कन र समुदाय परिचालनमा अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गरिएको थियो । समुदायको सामाजिक परिचालक भएका नाताले र शौचालय निर्माण संगसंगै अन्य परियोजना पनि लागु भइरहेकोले आफ्नो धेरै भन्दा धेरै समय वार्ड वार्ड डुल्ने काम भएको थियो । कहिलेकाँही आफ्नो दौडधुप सम्झिदा थकान महशुस हुन्छ तर आज आफ्नो गाउँ नेपालकै नमुना भइरहेको सम्झिदा भने दौडधुपको मिठो फल पाएको झैं लाग्छ ।
बिना कुलुङ आफ्नो चर्पी निर्वानाधिन अवस्थामा र सम्पन्न भैसके पछी ।
खुला दिसामुक्त तथा इकोसान भिलेज भएपछि गाउँको विकासमा छुट्टैे आयाम थपिने स्थानिय सबैको विश्वास छ । हाल यहाँको समुदायमा चेतना, एकता र विकास प्रतिको मोह उच्च भएको पाएको छु र यसै प्रेरणाले छेस्काम आगामी दिनमा समुदाय विकासमा झन् लम्किने छ भन्नेमा मलाई पुर्ण विश्वास छ ।